नेपालमा वन व्यवस्थापनको कार्य वि. सं. १९९९ सालदेखि शुरू भएको पाइन्छ । सर्वप्रथम काठमहल अड्डाको स्थापना गरी त्यस अन्तर्गत तीन सर्कल र १२ वन जाँच अड्डा हुँदै विभिन्न सर्कल, डिभिजन, सि.सि.एफ. कार्यालय तथा प्रधान वन कार्यालयको स्थापना भई देशमा वनको संरक्षण तथा व्यवस्थापन भएको पाईन्छ । वि. सं. २०४० सालमा आएर विकेन्द्रीकरण प्रक्रियासँग मेल खानेगरी पाँचवटा क्षेत्रीय वन निर्देशनालय सहित जिल्ला वन कार्यालहरू स्थापना हुन शुरू भई आ. व. २०४३।४४ सम्ममा तत्कालिन ७५ वटै जिल्लामा जिल्ला वन कार्यालयहरू; पछि वि. सं. २०५० सालमा मुस्ताङ जिल्ला बाहेक ७४ जिल्ला वन कार्यालयहरू कायम रहेको थियो । पछिल्ला समय नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७५।०३।३२ को निर्णयानुसार जिल्लास्थित वन कार्यालयको नाम डिभिजन वन कार्यालय रहेको छ, र सोही बमोजिम यस कार्यालयको नाम डिभिजन वन कार्यालय खोटाङ रहेको छ । खोटाङ जिल्लाको वन सम्पदाको वैज्ञानिक व्यवस्थापन, वनको सिमाङ्कन, नियन्त्रण र संरक्षण गर्दै वातावरणीय सन्तुलनलाई समेत कायम राख्दै वन सम्पदाको उचित प्रयोग गरी वन्य श्रोतलाई पुनः सिर्जना हुन दिने प्रक्रिया अपनाउने, वैज्ञानिक तथा आर्थिक दृष्टिकोणले बढी महत्वपूर्ण हुने वन्यजन्तु र वनस्पतिको लेखाजोखा गरी दिगो व्यवस्थापन गर्ने र स्थानिय जनताहरूलाई आवश्यक पर्ने काठ दाउरा, डालेघाँस, जडीबुटी तथा अन्य वन पैदावारको न्यायोचित रूपमा वितरण गर्ने उद्देश्यले हालको डिभिजन वन कार्यालयको स्थापना भएको हो । हाल यस डिभिजन वन कार्यालय खोटाङ अन्तर्गत ६ गोटा सव-डिभिजन वन कार्यालयहरू रही जिल्लामा वन र वातावरण सम्बन्धी सेवा प्रवाह भई आएको छ ।